कार्यालयको परिचय

नेपाल सरकारका जिल्ला स्थित कार्यालयहरुलाई रकम निकासा दिने, आन्तरिक लेखापरीक्षण गरी प्रतिवेदन उपलब्ध गराउने र विनियोजन, राजश्व तथा धरौटीको एकिकृत विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्ने लगायतका कार्य सम्पादनका लागि आय व्यय संचालन कार्यविधि नियमावली, २०३८ बमोजिम वि.सं.२०३८ साल श्रावण १ गते देखि महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधिको रुपमा जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुको स्थापना हुने क्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय, भक्तपुर वि.स.२०३९ सालमा स्थापना भएको हो ।चौमासिक निकासा, मासिक सोधभर्ना निकासा लगायतका पद्धतिबाट बजेट निकासाको कार्य हुँदै आएकोमा सूचना प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै सरकारको वित्तीय खर्च एवं नगद व्यवस्थापनको कार्यलाई Real time मा आधारित, मितव्ययी, पारदर्शी र प्रभावकारी तुल्याई वित्तीय जोखिम न्यून गर्दै सरकारको कोष प्रणालीलाई अन्तराष्ट्रियस्तरको बनाउने उद्देश्यले २०६६ माघ १ गते देखि यसै कार्यालय मार्फत् पाइलटिङ् रुपमा इन्टरनेट प्रणालीमा आधारित एकल खाता कोष प्रणाली (Treasury Single Account-TSA) लागू भए पस्चात चरणबद्ध रुपमा देशै भरका कोष तथा लेखा नियन्त्रक कार्यालयमा लागू भएको थियो । वितीय व्यवस्थापन प्रणाली प्रभावकारी बनाउन महालेखा नियन्त्रक कार्यालयले आधुनिक सुचना प्रविधिमा आधारित विभिन्न प्रणालीहरुको प्रयोग बढाउँदै देशै भर एकिकृत रुपमा लागु गरेको छ । महालेखा नियन्त्रक कार्यालयको जिल्लास्थित प्रतिनिधिको रुपमा कोष तथा लेखा नियन्त्रक कार्यालयले सरकारी कार्यालयहरुको निकासा भुक्तानी लगायत वितीय व्यवस्थापनमा सहयोग तथा समन्वय गर्दै आएको छ । जिल्लास्थित सरकारी कार्यालयहरुको वितीय नियन्त्रण तथा आन्तरिक लेखापरीक्षण गरि सुझाव सहितको प्रतिवेदन जारि गर्ने र जिल्ला स्थित सबै कार्यालयहरुको विनियोजन राजश्व धरौटी तथा कार्यसञ्चालन कोष लगायत अन्यकोषको एकिकृत वितीय विवरण बनाइ पेश गर्ने लगायत प्रचलित कानुन बमोजिमका यस कार्यालयको जिम्मेवारी भित्रका कार्यहरु सम्पादन गर्दै आएको छ ।

कार्यालयबाट सम्पादन हुने सेवाहरु

  • बजेट खर्च गर्ने अख्तियारी तथा स्वीकृत कार्यक्रम अनुसारका कार्यहरु सम्पादन गर्न सम्बन्धित कार्यालयको अनुरोधमा चेक तयार गर्ने ।
  • सरकारी कार्यालयहरुमा प्राप्त लगती एवं हसवली राजस्व रकमको कार्यालयगत र शिर्षकगत मासिक तथा वाषिर्क आर्थिक विवरण तयार गरी तालुक कार्यालयहरुमा पठाउने ।
  • सरकारी कारोबारसंग सम्बन्धित धरौटी रकमको कार्यालयगत आम्दानी जनाउनुको साथै कार्यालयको अनुरोधमा भूक्तानी गरी सोको मासिक तथा वाषिर्क आर्थिक विवरण तयार गरी तालुक कार्यालयहरुमा पठाउने ।
  • दैनिक रुपमा चेक भूक्तानी गरेको रकम र राजस्व आम्दानी बीचको फरक रकमलाई हिसाव मिलान गरी सरकारी रकमको कारोवार गर्ने बैंकहरुलाई सोधभर्ना दिने ।
  • महालेखा नियन्त्रक कार्यालयको निर्देशनमा अर्थ बजेट अन्तरगत रकमान्तर एवं सेवा निवृत्त कर्मचारीहरुलाई औषधि उपचार खर्च र सञ्चित विदाको रकम भूक्तानी गर्ने ।
  • सरकारी कार्यालयहरुमा हुने विनियोजन, राजस्व, धरौटी र कार्य सञ्चालन कोषको आम्दानी, खर्च तथा बचत रकमको आन्तरिक लेखापरीक्षण गरी सोको प्रतिवेदन दिई व्यबस्थापनलाई सहयोग गर्ने ।
  • सेवा निवृत्त कर्मचारीहरुको पारिवारिक निवृत्तभरण अधिकारपत्र जारी गर्ने ।
  • निवृत्तभरण पत्र हराएमा/झुत्रो भएमा/पाना सकिएमा प्रतिलिपी दिने ।
  • वैंक खाता मार्फत निवृत्तभरण भुक्तानी दिन शिफारिस गर्ने ।